एमालेको सक्रियताले अन्य दलमा पनि ऊर्जा थपेको छ: उपमहासचिव ज्ञवाली
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरूमा पनि ऊर्जा थपिएको दाबी गरेका छन्।
सोमबार बसेको जनपरिचालन समितिको बैठकमा उनले भने, “जति राजनीतिक गतिविधि बढ्छन्, त्यति देशमा अराजकता घट्छ। एमाले फेरि लयमा फर्किएको छ।” ज्ञवालीले मुलुकमा देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबिच ध्रुवीकरण रहेको उल्लेख गर्दै एमालेका गतिविधिले अन्य दललाई पनि सक्रिय बनाएको बताए।
बैठकमा बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा. राजन भट्टराईले भदौ २७ गते हुने महाधिवेशनको उद्घाटन सत्र र जनसभालाई ऐतिहासिक बनाउने तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिएका छन्।
उक्त बैठकले पालिका र वडा तहसम्म व्यापक जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले विस्तृत जनपरिचालन कार्ययोजना पारित गरेको छ। एमालेले महाधिवेशनको उद्घाटन सत्रलाई सफल बनाउन आगामी दिनहरूमा जनपरिचालन अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने योजना बनाएको छ।













