बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा निधन भएको छ । बलिउडका ‘ही-म्यान’का नामले चिनिने अभिनेता धर्मेन्द्रको आज निधन भएको हो ।
सन् १९६० देखि बलिउडमा सक्रिय थिए र करिब ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए। धर्मेन्द्रको अभिनय यात्रा बहुप्रतिष्ठित फिल्महरूबाट चिनिन्छ। उनले ‘शोले’मा वीरू, ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’ र ‘धर्म वीर’ जस्ता सदाबहार फिल्महरूमा भूमिका निभाएका थिए। रोमान्टिकदेखि एक्सन हिरोसम्म उनले आफ्नो बलियो छाप छोडेका छन्।
उनी सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट र २०१२ मा भारत सरकारको पद्मभूषण पुरस्कारबाट सम्मानित भइसकेका थिए। धर्मेन्द्रका पछिल्ला फिल्महरूमा ‘तेरी बातों में ऐसा उलझा जिया’ र ‘रकी और रानी की प्रेम कहानी’ पर्दामा आएका थिए भने उनको अन्तिम फिल्म ‘इक्किस’ प्रदर्शन हुन बाँकी छ।
धर्मेन्द्रका परिवारमा उनकी श्रीमतीहरू प्रकाश कौर र हेमा मालिनी, छोरा सनी र बबी देओल, र छोरीहरू ईशा र आहाना देओल छन्।












