सेयर बजारमा आज हरियाली, नेप्से परिसूचक ५०.४४ अंकले बढेर २६५० अंकमा
Prime TV News ६ दिन अगाडि काठमाडौ । सोमबार सेयर बजार हरियालीले भरिएको छ। नेप्से परिसूचक ५०.४४ अंकले बढेर २६५० अंकमा पुगेको छ। दिनभर बजार सकारात्मक रहेर कारोबार उत्साहजनक रह्यो। अघिल्लो दिनको ६ अर्ब २८ करोड रुपैयाँको कारोबारको तुलनामा आज ७ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ।
आज २१५ कम्पनीको मूल्य बढेको छ भने ३७ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रहेको छ। सबै समूहका सूचकमा वृद्धि देखिएको छ। जीवन बीमा समूह सबैभन्दा धेरै ४.९४% ले बढेको छ भने निर्जीवन बीमा २.९९%, बैंकिङ १.४०%, विकास बैंक १.२१%, फाइनान्स १.४२%, होटल तथा पर्यटन २.२४%, हाइड्रोपावर ०.८०%, लगानी १.८३%, उत्पादन तथा प्रशोधन १.६४%, माइक्रोफाइनान्स १.९३%, अन्य १.६८% र व्यापार ०.७६% ले बढेका छन्।
आज पाँच कम्पनी झापा इनर्जी, सागर डिस्टिलरी, बन्दीपुर केबुलकार र नयाँ कारोबार सुरु गरेको श्रीनगर एग्रिटेकको मूल्य १०% ले बढेको छ। यसबाहेक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य ८.२६%, सूर्यज्योति लाइफ इन्स्योरेन्स ८.०१%, जोशी हाइड्रोपावर ७.६३% र सन नेपाल लाइफ इन्स्योरेन्स ७.०२% ले वृद्धि भएको छ।
सबैभन्दा बढी घटेको कम्पनी माबिलुङ इनर्जी रहेको छ, जसको मूल्य ४.४४% ले घटेको छ। आज धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्।












