जेनजी प्रदर्शनका घाइतेमध्ये छुट भएकालाई मंसिर १२ मा उपस्थित हुन प्रशासनको आह्वान
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा छुट भएकाहरूलाई पुनः उपस्थित हुन आग्रह गरेको छ। प्रशासनले एक सार्वजनिक सूचना जारी गर्दै वर्गीकरणका लागि मंसिर १२ गते दिउँसो १२ बजे कार्यालयमा उपस्थित हुन अनुरोध गरेको हो।
प्रशासनले मंसिर ५ गतेदेखि जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२ अनुसार वर्गीकरण प्रक्रिया सुरु गरेको थियो। सोही क्रममा अधिकांश घाइतेहरूको विवरण संकलन भए पनि केही व्यक्तिहरू उपस्थित हुन नसकेका कारण फेरि बोलाइएको प्रशासनले जनाएको छ।
साथै, आवतजावत वा हिँडडुलमा समस्या भएर कार्यालयसम्म आउन कठिनाइ हुने घाइतेहरूको लागि एम्बुलेन्स सुविधा उपलब्ध गराइने बताइएको छ। उता, अझै पनि विभिन्न अस्पतालमा भर्ना भई उपचाररत घाइतेहरूको हकमा वर्गीकरण समिति स्वयं अस्पताल पुगेर वर्गीकरण गर्ने व्यवस्था मिलाइएको प्रशासनले स्पष्ट पारेको छ।












