कांग्रेस संस्थापन पक्षको निष्कर्ष : निर्वाचनपछि मात्रै महाधिवेशन, विशेष महाधिवेशनबारे छलफल नै भएन

User Image Prime TV News ६ दिन अगाडि
Image of कांग्रेस संस्थापन पक्षको निष्कर्ष : निर्वाचनपछि मात्रै महाधिवेशन, विशेष महाधिवेशनबारे छलफल नै भएन

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षले आसन्न निर्वाचनलाई प्राथमिकता दिँदै महाधिवेशन चुनावपछि मात्र गर्ने निर्णय गरेकाे छ। धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा बसेको भेलामा ९१ जना केन्द्रीय सदस्यले उपस्थिती जनाउँदै नियमित महाधिवेशन हालैको निर्वाचन प्रक्रियापछि गर्नेमा सहमति जनाएका हुन्।

केन्द्रीय सदस्य किरण पौडेलका अनुसार पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको र आयोगले तोकेको कार्यतालिकामा तालमेल मिलाउनुपर्ने बाध्यताका कारण महाधिवेशन समयमै गर्न नसकिने स्पष्ट भएको छ। उनले भने, “विधानअनुसार बन्द सूची पेस गर्नुभन्दा एक महिना अगाडि उमेदवार टुंगो लगाउनुपर्छ। तर अहिले हामीसँग त्यो काम पूरा गर्न आवश्यक समय छैन।” पौडेलका अनुसार वडा, निर्वाचन क्षेत्र र जिल्लाबाट सिफारिसहरू संकलन गरी संसदीय समितिबाट अन्तिम निर्णय गर्ने प्रक्रिया ढिलो भइसकेको छ।

उनले भने, “अब पनि ढिला गर्‍यौँ भने निर्वाचन आयोगले कुर्न सक्दैन। पार्टी पूर्ण रूपमा चुनाव तयारीमा जुट्नुपर्छ।” भेलाको सुरुमा सबै सदस्य संविधानलाई कार्यान्वयन मार्गमा फर्काउन पार्टीले चुनाबमा भाग लिनुपर्छ भन्नेमा सहमत थिए।

तर महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विषयमा मतभेद हुँदा निर्णयमा ढिलाइ भएको पौडेलले बताए। अन्ततः चुनापछि महाधिवेशन गर्ने निष्कर्ष बनेको हो। असोज २९ गते नै झन्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन प्रस्ताव दर्ता भए पनि भेलामा त्यसबारे कुनै बहस भएन।

कांग्रेस विधान दफा १७(२) अनुसार केन्द्रीय समितिले चाहेमा, वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ। यद्यपि, ठूलो बहुमतको माग हुँदाहुँदै पनि उक्त प्रस्ताव अहिलेसम्म केन्द्रीय समितिको औपचारिक एजेन्डामा प्रवेश गरेको छैन ।

संस्थापनको भेलाले निर्वाचन पछि महाधिवेशन गर्ने निष्कर्ष निकालीरहदा महामन्त्री गगन थापाले निर्वाचन अघि विशेष महाधिवेशन हुने र महाधिवेशनबाट निर्वाचन सभापतिले निर्वाचनको टिकट वाड्ने वताएका छन् ।