भारतको पिटिसी कम्पनीसँग विद्युत खरिद सम्झौताले नेपाललाई कुनै घाटा छैनः मन्त्री घिसिङ

User Image Prime TV News एक महिना अगाडि
Image of भारतको पिटिसी कम्पनीसँग विद्युत खरिद सम्झौताले नेपाललाई कुनै घाटा छैनः मन्त्री घिसिङ

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग विद्युत खरिद सम्झौता गरेर नेपाललाई कुनै घाटा नरहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्री घिसिङले प्रतियुनिट ६ रूपैयाँ ९५ पैसामा विधुत खरिद सम्झौता गरेर घाटा नभइ फाइदा भएको भन्दै ४३ करोड घाटा भयो भनेर गरिएको प्रचारबाजीमा सत्यता नरहेको बताए ।

उनले अहिलको विद्युत खरिद सम्झौता गरेर विद्युत प्राधिकरणलाई एक अर्ब २० करोड बचाएको दावी समेत गरे । पिटिसी कम्पनीसंग विद्युत खरिद सम्झौता नभएको भए ८ रुपैया १० पैसामा विद्युत खरिद गर्ने अवस्था रहेको मन्त्री घिसिङको भनाई छ ।

घिसिङले अहिलको सम्झौताले राज्यलाई नाफाका साथै सुख्खा मौसममा उद्योगीहरुलाई थप विधुत दिन सक्ने वातावरण बनेको पनि जिकिर गरे । त्यस्तै मन्त्री घिसिङले सरकारी बजेट रोक्का भएका कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम देखिएको बताए ।

रोक्का भएको बजेट घटाएर हेर्ने हो भने प्रगति प्रतिशत २० प्रतिशतभन्दा माथि पुग्ने उनले बताए । बजेट रोक्कापछिको दोस्रो ठूला अवरोध जेनजी आन्दोलन र विभिन्न परियोजनास्थलमा काम बन्द हुनु रहेको भन्दै मन्त्री घिसिङले समयमा काम नगर्ने निर्माण व्यवसायीलाई  कडाइका साथ कारबाही थालिएको भन्दै दुई सय ६९ परियोजना ठेक्का तोड्ने प्रक्रियामा रहेको र ४९ ठेक्का आधिकारिक रूपमा तोडिएको जानकारी दिए ।

पुनर्निर्माणका संरचनाको डिजाइन तथा निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको उहाले बताउनुभयो । बैठकमा समिति सदस्यहरुले विद्युत खरिद सम्झौता, पुननिर्माण र विकास खर्चका बारेमा चासो राखेका थिए ।