यो समाजमा बाँच्न मलाई साँच्चिकै धेरै गाह्रो भइसक्योः अभिनेत्री वर्षा राउत

User Image Prime TV News एक महिना अगाडि
Image of यो समाजमा बाँच्न मलाई साँच्चिकै धेरै गाह्रो भइसक्योः अभिनेत्री वर्षा राउत

काठमाडौ । अभिनेत्री वर्षा राउतले श्रीमान् सन्जोग कोइरालासँगको सम्बन्धबारे सार्वजनिक रूपमा भइरहेका टीका टिप्पणीका कारण आफूलाई बाँच्नसम्म गाह्रो भएको बताएकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले पछिल्ला आरोप, लाञ्छना र निरन्तरको सामाजिक दबाबले आफू गम्भीर मानसिक तनावमा पुगेको उल्लेख गरेकी हुन्।

पछिल्लो समय वर्षा र सन्जोगबीच दूरी बढेको चर्चा मनोरञ्जन क्षेत्रमा तीव्र बनेको छ। वर्षा माइतीघर बस्न थालेको समाचार र चलचित्र प्रिमियरमा उनको शरीरमा देखिएका दागले सम्बन्ध डिभोर्सको संघारमा पुगेको जस्तो अनुमान सामाजिक सञ्जालमा फैलिएको थियो। यद्यपि, उनीहरू दुवैले हालै संयुक्त अन्तर्वार्ता दिँदै सम्बन्धमा कुनै टकराव नरहेको स्पष्ट पारेका थिए।

तर, त्यसपछि पनि निरन्तर भइरहेका टिप्पणीहरूले आफूलाई मनोवैज्ञानिक रूपमा थिचिरहेको वर्षाले बताएकी छन्। एक सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्तर्वार्तामा उनले श्रीमानलाई ‘तँ’ भनेर सम्बोधन गरेको भन्दै आलोचना गरेपछि वर्षाले लेखेकी छन्,“कहिलेकाहीँ मान्छेले आत्महत्यासम्म सोच्नुपर्ने अवस्था समाजले नै बनाइदिन्छ। अपेक्षा, दबाब र अन्यायले मानिसलाई अन्धकारतिर धकेल्दो रहेछ।”

उनले समाजको दोहोरो मापदण्डप्रति पनि कठोर असन्तुष्टि व्यक्त गरेकी छन्।