जेनजी समूहद्वारा सिंहदरबार गेटमै टाँसियो मागपत्र, प्रधानमन्त्री कार्कीलाई भेट्न पाएनन्
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । मिराज ढुंगाना, रवीकिरण हमालसहित २१ जना ‘जेनजी समूह’का सदस्यहरूले सोमबार सिंहदरबारको मुख्य गेटमा ज्ञापनपत्र टाँस्दै सरकारसँग माग राखेका छन्।
समूहका सदस्यहरूले संविधान खारेजीदेखि लिएर निर्वाचन आयोगमा दर्ता भएका दल र पूर्व सांसद तथा मन्त्रीहरूको चलअचल सम्पत्ति रोक्का गर्नसम्बन्धी कदम चाल्न सरकारसँग माग गरेका छन्। यसैगरी, राजनीतिक दलहरूको आर्थिक गतिविधि, जनप्रतिनिधिहरूको सम्पत्ति र सरकारी संयन्त्रको पारदर्शिताबारे तत्काल कदम चाल्न पनि उनीहरूले जोड दिएका छन्।
ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री सुशीला कार्कीको कार्यालय पुगेका जेनजी समूहका सदस्यलाई प्रधानमन्त्रीले भेटिनन्। प्रधानमन्त्रीको समय मिलाउन खोज्दा प्रमुख स्वकीय सचिवले फोन ‘स्विच अफ’ राखेका थिए भने मेसेजको जवाफ पनि नदिइएको अभियन्ताहरूले बताएका छन्।
जेनजी समूहले प्रधानमन्त्रीको सचिवालयमा आफन्त र नातेदारको नियुक्तिप्रति विरोध जनाउँदै सिंहदरबार पुगेको थियो । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नपाएपछि जेनजीहरुले सिंहदरवार गेटमा मागपत्र टाँसेका थिए ।













