जेनजी आन्दोलनमा टिओबी समूहको भूमिका बारे अनुसन्धान जारी छः नेपाल प्रहरी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल प्रहरीले जेनजी आन्दोलनमा टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी नै रहेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टिओबीका मुख्य व्यक्ति भनिने तेन्जिन दावा लामा हिरासतमै रहेको र जेनजी आन्दोलनमा टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी रहेको जनाएको हो ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले टिओबीको लागोको डिजाइन हिरासतमै रहेका तेन्जिनले गरेको खुलेको बताए । भाद्र २३ गते १२ बजेको समयमा बिजुलीबजार पुगेर बाइक पड्काउदै नारा जुलुस गर्नुका साथै सो समूहले भीडलाई उत्तेजित गर्ने काम गरेको भट्टराईले बताए ।
तेन्जिनले आफुलाई आधा तिब्बतीयन भएको कुरा प्रहरीलाई भनेको र सो समूहमा तेन्जिन बाहेक अरु सवै सदस्य नेपाली मूलको भएको खुलेको प्रहरीले जनाएको छ । त्यस्तै हिरासतमा रहेका तेन्जिनले आफुले भीडमा गएर उत्तेजित गर्ने काम गरेर गल्ती गरेको बताएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा १० जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकाहरूले २ करोड ५ लाखको कारोबार गरेको देखिएको परिसरका प्रवक्ता भट्टराईले बताए ।
नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि करिव ४ सय जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ । त्यसैगरि भट्टराईले काठमाडौँको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा एक महिलाको हत्या आरोपमा २४ बर्षिय सुर्य थापालाई पक्राउ गरि अनुसन्धान भइरहेको र पक्राउ परेका थापाले हत्या गरेको स्वीकार गरेको जानकारी दिए ।













