एनपीएल: आज लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज आमनेसामने हुँदै
Prime TV News १ हप्ता अगाडि काठमाडौ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज आमनेसामने हुँदैछन्। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ बजेदेखि सुरु हुने खेल दुवै टोलिका लागि महत्वपूर्ण मानिएको छ।
काठमाडौँ गुर्खाज तीन खेल मध्ये एकमा मात्र विजयी रहँदै लगातार दुई खेलमा पराजित छ। कप्तान करण केसीको टोलीले उद्घाटन खेलमा जनकपुर बोल्टसलाई ५ विकेटले हराए पनि त्यसपछि सुदूरपश्चिम रोयल्ससँग २९ रन र विराटनगर किङ्ससँग पाँच विकेटको हार व्यहोरेको हो।
लुम्बिनी लायन्सले भने दुई खेलमध्ये एक जितेको छ। राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराए पनि दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटको ठूलो हार खेपेको थियो।
अंक तालिकामा दुवै टोलीका २–२ अंक छन्। काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेको छ। आजको खेल दुवैले प्रतियोगितामा फर्किने अवसरका रूपमा लिएका छन्।













