देशभरको मौसम स्थिर तर काठमाडौँ उपत्यकाको तापक्रम भने घट्दो क्रममा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । देशभरको मौसम हाल स्थिर र उल्लेखनीय प्रणालीविहीन रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली भए पनि बाँकी भूभाग आज बिहानदेखि नै सफा र स्थिर अवस्थामा छ।
लुम्बिनी प्रदेशका केही स्थानमा हुस्सु र तुवाँलो देखिएको छ, जसले स्थानीय यातायातमा असहजता ल्याएको बताइएको छ । दिउँसोतर्फ कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र मात्रै केही बदली हुने अनुमान गरिएको छ।
अन्य सबै प्रदेशमा मौसम सफा रहने महाशाखाको भनाइ छ। राति पनि देशभर मौसम खुला रहन्छ, जसले चिसो झन् तीव्र हुन सक्ने संकेत दिएको छ।
काठमाडौँ उपत्यकाको तापक्रम भने लगातार घटिरहेको छ। आज बिहान ५ः४५ बजे मापन गरिएको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस पुगेको छ, जुन हिजो सोमबारको ९ डिग्रीभन्दा निकै तल्लो हो।
महाशाखाले तापक्रम थप घट्ने सम्भावना रहेको बताउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।













