एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा प्रतिनिधि छनोट तयारी तीव्र

User Image Prime TV News ६ दिन अगाडि
Image of एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा प्रतिनिधि छनोट तयारी तीव्र

काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा प्रतिनिधि छनोटका तयारी तीव्र बनेका छन्। यस्तै बेला पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गर्दै देशभरका कमिटीहरूलाई स्पष्ट कार्यदिशा दिएको छ।

विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार हिजो साँझ बसेको भर्चुअल बैठकले प्रतिनिधि छनोट प्रक्रियालाई कडाइका साथ समयमै सम्पन्न गर्न विशेष जोड दिएको हो।

निर्देशनअनुसार सबै निर्वाचन क्षेत्रले प्रतिनिधि छनोट सुरु गर्नु अघि अन्तिम मतदाता सूची सार्वजनिक गर्नैपर्नेछ। मतदाता सूची केन्द्रीय कमिटीले जारी गरेको पछिल्लो परिपत्रअनुसार तयार गर्नुपर्ने र सूचीको संख्या तुरुन्तै संगठन विभागलाई पठाउनुपर्ने भनिएको छ।

सर्वसम्मतिका लागि १२ गते साँझसम्म प्रयास जारी राख्ने र सहमति नजुटेमा १३ गते अनिवार्य रूपमा निर्वाचन प्रक्रियामा जाने निर्णय गरिएको छ। विभागले १३ गतेको प्रतिनिधि छनोट कुनै पनि बहानामा स्थगित नगर्न चेतावनीसहित निर्देशन जारी गरेको छ।

केही जिल्लाहरूमा उम्मेदवारी दर्ता शुल्क अत्यधिक तोकिएको गुनासो आएपछि विभागले यसको सीमा निर्धारण गर्दै शुल्क १ हजार रुपैयाँभन्दा बढी नलिन निर्देशन दिएको छ। प्रतिनिधि छनोटका लागि खटाइएका नेताहरू तोकिएको क्षेत्रमै समयमै पुगेर प्रक्रियालाई सहज बनाउनु पर्ने भनिएको छ।

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गते काठमाडौँमा हुने छ। महाधिवेशनका लागि आवश्यक प्रतिनिधि भने मंसिर १३ गते देशैभर एकै दिन छानिने एमालेले जनाएको छ। करिब २२ सय प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउने तयारी भइरहेको बताइएको छ ।