जेनेभा वार्ता संगै,रुस–युक्रेन युद्ध समाधान नयाँ मोडमा

User Image Prime TV News ६ दिन अगाडि
Image of जेनेभा वार्ता संगै,रुस–युक्रेन युद्ध समाधान नयाँ मोडमा

काठमाडौ । रुस–युक्रेन युद्धको समाधान खोज्न जेनेभामा भएको पछिल्लो वार्ताले नयाँ मोड लिएको छ। वार्तापछि युक्रेन र अमेरिकाले सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा ‘अद्यावधिक शान्ति योजना’ को उल्लेख गर्दै यसलाई पुन:संशोधित र सुधारिएको दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ।

आइतबार अमेरिका, जर्मनी, फ्रान्स, बेलायत र युक्रेनका प्रतिनिधिहरू सहभागी रहेको वार्तामा पहिल्यै विवादास्पद ठहरिएको अमेरिकी शान्ति प्रस्तावलाई परिमार्जन गरिएको बताइएको छ। प्रारम्भिक प्रस्ताव धेरै हदसम्म रुसपक्षीय रहेको आलोचना बीच आएको आलोचनालाई ध्यानमा राख्दै नयाँ संरचना तयार पारिएको छ।

फाइनान्सियल टाइम्सका एक प्रतिनिधिलाई उद्धृत गर्दै योजनामा समावेश १९ बुँदा प्रारम्भिक प्रस्तावकै आधारबाट लिइएका भए पनि त्यसका संवेदनशील धाराहरू फेरि लेखिएको उल्लेख गरेको छ। रोयटर्सका अनुसार अद्यावधिक योजना पूर्णरूपमा सार्वजनिक भइसकेको छैन, तर यसले पश्चिमी मुलुकलाई युक्रेनमा स्थायी सैन्य तैनाथी गर्न नदिने व्यवस्था राखेको छ ।यद्यपि यो पूर्ण प्रतिबन्ध भने नभएको बताइएको छ । 

नयाँ योजनाले डोनबास क्षेत्र रुसलाई हस्तान्तरण गरिने सम्भावना नटेकेको छ। युक्रेनले कब्जा गरिएका क्षेत्र कूटनीतिक माध्यमबाट पुनःअर्जन गर्न सक्ने उल्लेख गरिएको छ। यसअघि समावेश भएको युद्ध अपराधका लागि पूर्ण आममाफी दिने व्यवस्था पनि हटाइएको छ, जसले उत्तरदायित्व र न्यायका प्रश्नलाई प्राथमिकता दिएको देखिन्छ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ भएको दाबी गर्दै यो अद्यावधिक योजना स्थायी शान्तिको दिशामा महत्वपूर्ण ढोका खोलेको टिप्पणी गरेका छन् ।