ट्रम्प आगामी अप्रिलमा बेइजिङ जाने, दुई ठूला शक्तिबीच व्यापार–कूटनीतिक तापक्रम न्यानो
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी अप्रिल महिनामा बेइजिङ औपचारिक भ्रमण गर्ने भएका छन्। ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग गरेको टेलिफोन वार्तापछि चीन भ्रमणको प्रस्तावमा सहमति जनाएका हुन्। उनले सीलाई अर्को वर्ष अमेरिका आउने निम्तो पनि दिएका छन्।
करिब एक घन्टा चलेको उक्त फोन संवादमा दुई नेताबीच व्यापार, फेन्टानिल नियन्त्रण, युक्रेन–रूस युद्ध, ताइवानको भविष्य लगायतका संवेदनशील विषयमा चर्चा भएको बताइएको छ। वार्तापछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै, “हाम्रो चीनसँगको सम्बन्ध अत्यन्तै बलियो छ,” भनेका छन् ।
चिनियाँ सरकारी समाचार एजेन्सीका अनुसार बीजिङले अमेरिका–चीन सम्बन्ध अहिले स्थिर र सकारात्मक दिशामा अघि बढिरहेको टिप्पणी गरेको छ। चीनले दुई देशले बराबरी र पारस्परिक हितको आधारमा बनेको हालको सकारात्मक गति कायम राख्नुपर्ने आवश्यकता उल्लेख गरेको छ।
अघिल्लो महिनामा दक्षिण कोरियाको बुसानमा भएको भेटपछि दुवै देशले शुल्क युद्धमा अस्थायी युद्धविराम गरेका थिए। त्यसै समझदारीअनुसार अमेरिकाले फेन्टानिल तस्करी रोक्न लगाइएको २० प्रतिशत शुल्क आधा गर्ने निर्णय गरेको थियो।
यद्यपि चीनबाट आयात हुने सामानमा लागू हुने औसत ५० प्रतिशत शुल्क भने यथावत छ। पछिल्लो प्रगतिको रूपमा अमेरिकाले चिनियाँ सामानमा थप १०० प्रतिशत शुल्क बढाउने चेतावनी फिर्ता लिएको छ। त्यसकै प्रतिक्रिया स्वरूप चीनले दुर्लभ खनिजको निर्यातमा कडाइ गर्ने योजना स्थगित गरेको छ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटका अनुसार सोमबारको वार्ताको मुख्य एजेन्डा व्यापार नै थियो। “हामी चीनतर्फ देखिएको व्यवहारबाट सन्तुष्ट छौँ, र उनीहरू पनि त्यही अनुभूति राख्छन्,” उनले भनिन्। चिनियाँ पक्षका अनुसार फोन संवादमा युक्रेनमा जारी युद्ध र ताइवानको दीर्घकालीन अवस्थिति बारे पनि दुवै नेताबीच कुराकानी भएको छ।
अप्रिलको उच्चस्तरीय भेटवार्ताबाट व्यापारिक तनाव घट्ने र दुई राष्ट्रबीच कूटनीतिक तातोपनै थप बढ्ने अनुमान गरिएको छ।













