नेपाली कांग्रेसमा विशेष महाधिवेशनबारे बढ्दै विवाद, महामन्त्री थापा र संस्थापन पक्ष आमनेसामने

User Image Prime TV News ६ दिन अगाडि
Image of नेपाली कांग्रेसमा विशेष महाधिवेशनबारे बढ्दै विवाद, महामन्त्री थापा र संस्थापन पक्ष आमनेसामने

काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको सम्भावनालाई लिएर शीर्ष नेताहरूबीच मतभेद सार्वजनिक भएपछि पार्टीभित्रको आन्तरिक विवाद झनै तीव्र बनेको छ।

महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको विकल्प नै नभएको भन्दै नेतृत्व परिवर्तन अनिवार्य रहेको दाबी गरिरहँदा, संस्थापन पक्षका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले भने कुनै हालतमा पनि विशेष महाधिवेशन नहुने स्पष्ट प्रतिक्रिया दिएका छन्।

गगन थापाले पार्टीले नयाँ सभापतिको हस्ताक्षरमा निर्वाचनमा जानुपर्ने आवश्यकता दोहोर्याएका थिए। तर थापाको अभिव्यक्तिको भोलिपल्टै संस्थापन पक्षीय नेता कल्याणकुमार गुरूङले फेसबुकमार्फत प्रतिवाद गर्दै विशेष महाधिवेशन असम्भव भएको ठोकुवा गरे।

उनले अहिले विशेष महाधिवेशनको प्रस्ताव नआएको र त्यसका लागि आवश्यक नियमावली तयार समेत नभएको दावी गरे । गुरूङले पाँच बुँदामा विशेष महाधिवेशन नहुने कारणसमेत सार्वजनिक गरे– विधानको धारा १७(२) को कार्यविधि नबनिएको, हस्ताक्षर प्रमाणीकरण नभएको, विशेष महाधिवेशनबाट सभापति हटाउने प्रावधान नै नदेखिएको लगायतका कारण उल्लेख गर्दै उनले भने, “बाहिर हल्ला चलेजस्तो केही छैन।”

त्यस्तै गुरूङका अनुसार सभापति हटाउने वैधानिक बाटो दुईवटा मात्र भएको उल्लेख गरेका छन् । सभाापतिको राजीनामा आएपछि ६ महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन, वा धारा ४४ बमोजिमको अविश्वास प्रस्ताव मात्र भएको बताए । “पार्टी एकता कायम राख्न अहिले विशेष महाधिवेशनमा अलमलिने सम्भावना छैन,” उनले स्पष्ट पारे, “निर्वाचनमा पार्टी देउवाकै हस्ताक्षरमा जान्छ।”