निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न सरकार आतुर छः गृहमन्त्री अर्याल

User Image Prime TV News ६ दिन अगाडि
Image of निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न सरकार आतुर छः गृहमन्त्री अर्याल

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले आफ्नो व्यक्तिगत आकांक्षा नभई राष्ट्रिय जिम्मेवारीअनुसार काम गरिरहेको बताउँदै, अब आउने निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न सरकार आतुर रहेको स्पष्ट गरेका छन्।

गृह मन्त्रालय तथा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले वर्तमान सरकार परिस्थितिले सिर्जना गरेको विशेष जिम्मेवारी पूरा गर्न केन्द्रित रहेको बताए।

‘वर्तमान सरकार कसैको कृपाबाट बनेको सरकार होइन,’ उनले भने, ‘हामी शून्यताको परिस्थितिलाई भर्न राष्ट्रले दिएको दायित्व पूरा गर्न आएका हो । व्यक्तिगत लोभ–लालसा वा आकांक्षा हाम्रो छैन। हामी सुशासनलाई बलियो बनाउँदै निर्वाचित सरकारलाई सहज रूपमा सत्ता हस्तान्तरण गर्ने दिशामा अग्रसर छौं।’

गृहमन्त्री अर्यालले विगतका चुनौतीपूर्ण अवस्थाबाट देश सामान्य अवस्थामा आइपुग्न सबै पक्षको निरन्तर मिहिनेत महत्वपूर्ण रहेको उल्लेख गरे।उनले स्वच्छ, निस्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्नु नै वर्तमान सरकारको मुख्य दायित्व भएको बताए ।

‘चुनाव हुन सक्दैन भन्ने नयाँ–नयाँ बहाना सार्वजनिक रूपमा फैलाइएका छन्,’ उनले भने, ‘तर सरकार ती सबै शंकालाई काम र परिणामबाट जवाफ दिन्छ।’