सिंहदरबार गेटअगाडि मिरज ढुंगाना समूहद्वारा प्रदर्शन, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

User Image Prime TV News ६ दिन अगाडि
Image of सिंहदरबार गेटअगाडि मिरज ढुंगाना समूहद्वारा प्रदर्शन, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउन नपाएको भन्दै मिरज ढुंगाना नेतृत्वको गरिखान देउ अभियान र अन्य जेनजी समूहले मंगलबार सिंहदरबार गेटअगाडि प्रदर्शन गरेका छन्।

समूहले सोमबार पनि सिंहदरबार गेट पुगेर प्रधानमन्त्री भेट्न खोज्दा असफल भएको थियो। मंगलबार उनीहरूले टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए। सिंहदरबार प्रवेश गर्न खोज्दा समूह र प्रहरीले केहीबेर धकेलाधकेलसमेत भएको थियो।

प्रहरीले समूहलाई गिरफ्तार हुन नदिएर रोकिएको थियो। समूहका अगुवाहरुका अनुसार सिंहदरबार पुगेर गिरफ्तारी दिने पूर्वयोजना अनुसार प्रदर्शन गरिएको बताए । सोमबार समूहसहित अन्य जेनजी अगुवाले ८ बुँदे संयुक्त मागपत्र सिंहदरबार गेटमा टाँसेका थिए।

मागपत्रमा भदौ २३–२४ को घटनामा संलग्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित सबैको पक्राउ, संविधान संशोधनका लागि सर्वपक्षीय सरकार गठन, घोषित निर्वाचन रोक्ने, सबै राजनीतिक दलका नेता तथा पूर्वसांसद–मन्त्रीहरूको सम्पत्ति रोक्का, शक्तिशाली भ्रष्टाचार निर्मुल आयोग गठन, सरकारी सेवामा दलीय कर्मचारी संगठनमा स्थायी प्रतिबन्ध, जेनजी निगरानी आयोग स्थापना, र शहीद तथा घाइते परिवारलाई तत्काल रोजगारी दिने मागहरू समेटिएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरूलाई सचिवालयमा नियुक्ति गरेको खुलेपछि मिरजसहितका जेनजी समूह आक्रोशित बनेको जनाइएको छ। समूहले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र सिंहदरबार आसपास प्रदर्शन गर्दै जाने चेतावनी दिएको छ।