कुलमान घिसिङको नेतृत्वको उज्यालो नेपाल पार्टीले बागमती प्रदेशमा पहिलो प्रदेश कमिटी गठन
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नयाँ राजनीतिक दल उज्यालो नेपाल पार्टीले संगठन विस्तारको औपचारिक सुरुवात गर्दै बागमती प्रदेशमा आफ्नो पहिलो प्रदेश कमिटी गठन गरेको छ। कुलमान घिसिङको नेतृत्वमा गठन भएको पार्टीले मंसिर ५ गते दल दर्ता प्रमाणपत्र प्राप्त गरेपछि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तारका गतिविधि अघि बढाएको हो।
सोमबार इन्द्रेणी बैंक्वेटमा बसेको भेलाले प्रविण तामाङको संयोजकत्वमा ७५ सदस्यीय बागमती प्रदेश अधिवेशन आयोजक कमिटी गठन गरिएको जानकारी पार्टीका नेता जीतराम वाइबाले दिए। वाइबाका अनुसार, “बागमती प्रदेशबाट संगठन विस्तारको सुरुवात भएको छ। अब यसलाई अन्य प्रदेशमा पनि फैलाउने योजना छ।”
तीन मन्त्रालयको नेतृत्व सम्हालिरहेका ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले भेलामा उपस्थित भएर कार्यकर्तालाई सम्बोधन गरेका थिए। उनले आगामी निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा मात्र मन्त्री पदबाट राजीनामा दिने र पार्टीको प्रत्यक्ष नेतृत्व सम्हाल्ने तयारी रहेको जानकारी दिएका छन्।
भदौ २३–२४ गते जेनजी आन्दोलनपछिको दर्ता भएका नयाँ दलमध्ये उज्यालो नेपाल पार्टी पहिलो दल हो जसले प्रदेश कमिटीसम्म संरचना विस्तार गरेको छ। पार्टीले मंसिर १७ गते प्रज्ञा भवन, कमलादीमा पार्टी घोषणा सभा आयोजना गर्ने पनि जनाएको छ।













