एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा (वक्तब्य सहित)

User Image Prime TV News ५ दिन अगाडि
Image of एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा (वक्तब्य सहित)

काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं महाधिवेशनका लागि पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले जारी गरेको वक्तव्यमार्फत आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।

पहिले पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष कार्यक्रममार्फत उम्मेदवारी घोषणा गर्ने तयारी गरेका थिए। तर उक्त प्रक्रिया केही दिन स्थगित गर्दै उनले एक्लै विज्ञप्तिमार्फत नै आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने निर्णय गरेका हुन्।

वक्तव्यमा पोखरेलले आफूले सदैव राष्ट्र, जनता र पार्टीलाई सर्वोपरि राखेर काम गरेको उल्लेख गरेका छन्। “जीवनका उतार–चढावमा इमान र निष्ठा कहिल्यै डगमगाउन दिएको छैन। शक्ति होइन, म विधि, समन्वय, सामूहिकता र सहकार्यमा विश्वास राख्छु,” पोखरेलले भनेका छन्।

देशभरबाट आएको आग्रह र सुझावका आधारमा अध्यक्ष पदमा उम्मेदवारी दिन आफू निष्कर्षमा पुगेको उनले बताए। पार्टीको पुनर्गठन र रूपान्तरणका लागि ११औं महाधिवेशन महत्वपूर्ण हुने उनको भनाइ छ।