ट्रम्पको शान्ति योजनाको १९ बुँदे नयाँ मस्यौदा तयार
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । रूस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको २८ बुँदे शान्ति योजनामाथि व्यापक विरोध बढेपछि अमेरिका र युक्रेनले संयुक्त रूपमा १९ बुँदे नयाँ मस्यौदा तयार गरेका छन्।
ट्रम्प प्रशासनले प्रारम्भिक योजना रूससँग मात्रै परामर्श गरेर बनाएको र युक्रेनलाई प्रक्रिया बाहिर राखिएको भन्दै तीव्र आलोचना भएको थियो। आलोचना बढेपछि दुवै देशका अधिकारीबीच हालै जेनेभामा सघन छलफल भएको फाइनान्सियल टाइम्सले युक्रेनका प्रथम उप–विदेशमन्त्री सर्गई किस्लित्स्यालाई उद्धृत गर्दै उल्लेख गरेको छ।
ट्रम्प योजनाको सबैभन्दा संवेदनशील विषय विशेषगरी भूभागसम्बन्धी विवाद, युक्रेनको रक्षा संरचना र नेटोको भविष्य भूमिका राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्तामार्फत टुंगिनेछन्। जेनेभा छलफलमा युक्रेनी पक्षले भूमि छोड्ने अधिकार आफूलाई नभएको र संविधान अनुसार यस्तो निर्णय जनमत संग्रहमार्फत मात्र गर्न सकिने स्पष्ट रूपमा जनाएको थियो।
अन्य विषयमा भने दुवै पक्षले सहमति खोज्दै धेरै बुँदामा संशोधन गरेर १९ बुँदे मस्यौदा तयार गरिएको बताइएको छ । ट्रम्पको मूल योजना युरोपमै नभई अमेरिकाभित्र पनि आलोचित भइरहेको छ। केही अमेरिकी सांसदहरूले त उक्त प्रस्ताव रूसकै तयार पारेको दस्तावेज भएको दाबीसमेत गरेका छन्।
तर अमेरिकी विदेश मन्त्री मार्को रूबियोले सामाजिक सञ्जाल एक्समार्फत ती दाबी अस्वीकार गर्दै शान्ति प्रस्ताव अमेरिकाकै पहलमा बनाइएको बताएका छन्। आलोचना चर्किएसँगै राष्ट्रपति ट्रम्पले पनि आफ्नो प्रस्ताव युक्रेनका लागि अन्तिम विकल्प नभएको भन्दै आवश्यक परिमार्जन गर्न सकिने बताएका थिए ।
ट्रम्पको २८ बुँदे योजनामा पुटिनका दीर्घकालीन माग युक्रेनले भूभाग त्याग्ने, सेनाको आकार घटाउने, र युद्धविरामपछि पश्चिमी शान्ति सेनालाई भूमिका नदिने समेत समावेश थिए। तर युक्रेनले यी सर्तहरू राष्ट्रहित र सुरक्षाका दृष्टिले अस्वीकार्य रहेको बताउँदै आएको छ।
जेनेभामा गरिएको संशोधनपछि तयार भएको १९ बुँदे मस्यौदालाई अन्तिम रूप दिने जिम्मेवारी अब ट्रम्प र जेलेन्स्कीबीच हुने उच्चस्तरीय वार्तामा रहेको बताइएको छ ।











