पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्किने वातावरण वनाई छाड्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको घोषणा
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टीमा सक्रियतापूर्वक भित्र्याउने वातावरण पार्टी नेतृत्वले सुनिश्चित गर्नुपर्ने बताएका छन्। आसन्न ११औँ महाधिवेशनका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले भण्डारीको पुनरागमन पार्टीका लागि प्रेरणादायी हुने र संगठनिक सबलिकरणमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे।
पोखरेलले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, “चार दशकसम्म पार्टी निर्माणमा योगदान पुर्याउनुभएका पूर्व उपाध्यक्ष भण्डारीले राष्ट्रपति पदको गरिमामय जिम्मेवारी सम्पन्न गरेपछि पार्टीको काममा फर्किन चाहनु गौरवको विषय हो।”
उनले भण्डारीलाई विगतमा पार्टी सदस्यताको प्रक्रियाबाट अलग राखिनु उचित नभएको टिप्पणी गर्दै त्यसले संगठनिक एकता र वैचारिक सबलीकरणमा प्रभाव पारेको बताए। वक्तव्यमा उनले थपे, “उहाँको आस्था, विचार र सिद्धान्तप्रति रहेको स्पष्ट प्रतिबद्धता हेर्दा पार्टी काममा फर्किन सक्ने वातावरण निर्माण गरिनुपर्छ र गरिनेछ।”
एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वबारे चर्चा चर्किरहेका बेला पोखरेलको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो। उनी अध्यक्ष पदका प्रमुख दावेदारमध्ये एक मानिन्छन्।












