विशेष महाधिवेशन पक्षधरहरूको आज विशेष भेला

User Image Prime TV News ५ दिन अगाडि
Image of विशेष महाधिवेशन पक्षधरहरूको आज विशेष भेला

काठमाडौ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति–सङ्घर्ष निर्णायक मोडतर्फ उन्मुख बनेको छ।

पार्टीभित्र विशेष महाधिवेशन माग गर्ने पक्षधरहरूले आज काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजेदेखि विशेष भेला सुरु गरेका छन्।

भेला केन्द्रीय कार्यसमितिमाथि दबाब बढाउँदै विशेष महाधिवेशनको मिति तिनै दिन तत्काल तोक्नुपर्ने मागसहित बसेको हो।भेलामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको समर्थन रहेको पक्षधर समूह सहभागी छ।

यी प्रतिनिधिहरूले गत असोज २९ गते पार्टी केन्द्रीय कार्यालयमै हस्ताक्षरसहित विशेष महाधिवेशन माग दर्ता गरिसकेका थिए।  यसबीच कांग्रेस केन्द्रीय समिति भोलि बस्न लागेको बैठकमा पार्टीको १५औँ महाधिवेशन फागुन २१ अघि हुने कि पछि भन्ने विषय प्रमुख विवादका रूपमा उभिएको छ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले प्रतिनिधिसभा चुनावअघि नै नियमित महाधिवेशन वा त्यसमध्ये कुनै सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन्।

तर सभापति शेरबहादुर देउवा समूहमात्र भने चुनावअघि महाधिवेशन ‘असम्भव’ रहेको भन्दै रोक्ने प्रयत्नमा छ।महाधिवेशनका मुखर पक्षधर मानिएका गगन थापा र विश्वप्रकाश शर्मा स्वयं भेला सहभागी नहुने भएका छन्।

भेला गुरुराज घिमिरेको अगुवाइमा सञ्चालन भइरहेको छ, जसमा नरहरि आचार्य, महेश आचार्य, तारानाथ रानाभाट, बलदेव शर्मा मजगैयाँलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

भेलाअघि मंगलबार विशेष महाधिवेशन पक्षधरहरूले काठमाडौं उपत्यकाका नेता, बागमती प्रदेशका जिल्ला तथा क्षेत्रीय सभापति, भ्रातृ सङ्गठन र शुभेच्छुक समूहसँग फरक–फरक छलफलसमेत गरेका थिए ।