एनपीएल अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुने
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । नेपाल प्रिमियर लिग अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोजबीच हुने खेलले प्रतियोगिताको माहोल फेरि तातेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजेदेखि सुरु हुने छ ।
विराटनगर किंग्स अहिले शानदार लयमा छ। कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टिमले तीनै खेल जित्दै ६ अंक जोडिसकेको छ। सन्दीपको बलिङ त झनै घातक बनेको छ । दुई खेलमा सात विकेट लिएर उनले सर्वाधिक विकेट टेकरको सूचीमा शीर्ष स्थान सम्हालेका छन्। विराटनगरले पोखरालाई ५३ रनले, काठमाडौंलाई ५ विकेटले र जनकपुरलाई ९ रनले हराउँदै अपराजित यात्रा कायम राखेको हो। समान ६ अंक बनाएको सुदूरपश्चिमसँगै उभिएको भए पनि रनरेटका कारण विराटनगर दोस्रो स्थानमा छ।
चितवन राइनोजको कथा भने मिश्रित छ। कप्तान कुशल मल्लको नेतृत्वमा पहिलो खेलमा कर्णालीविरुद्ध चार विकेटको जित निकाल्दै राम्रो सुरुवात गरे पनि दोस्रो खेलमा लुम्बिनीसमक्ष ६ विकेटले हार बेहोर्नुपर्यो। दुई खेलबाट जम्मा दुई अंकसहित उनीहरू अंकतालिकाको पाँचौँ स्थानमा छन्। आजको खेल चितवनका लागि जीवन मरण जस्तै छ । हारले प्लेअफको बाटो नै साँघुरो बनाउन सक्छ।
यो खेलको मुख्य आकर्षण चितवनका रवि बोपारा र विराटनगरका सन्दीप लामिछाने हुने पक्का छ। बोपाराले दुई खेलमै दुई अर्धशतक प्रहार गर्दै उत्कृष्ट फर्म देखिरहेका छन्। अर्कोतिर सन्दीपको स्पिन बलिङ यस सिजन बलिउत्तर प्रतिद्वन्द्वीका लागि दुःस्वप्न बनेको छ। यी दुईको प्रदर्शनले खेलको रंग नै निर्धारण गर्न सक्छ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरी आठ टिम प्रतिस्पर्धामा छन्। हाल सुदूरपश्चिम र विराटनगर ६–६ अंकसहित शीर्ष दुईमा छन्। काठमाडौं चार अंकसहित तेस्रो र लुम्बिनी, चितवन तथा कर्णाली क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन्। जनकपुर र पोखरा भने अझै अंकविहीन रहँदा उनीहरूको यात्रा अत्यन्तै निराशाजनक देखिन्छ ।












