देउवाले शिक्षा विधेयक टुङ्ग्याउन चाहेनन्, प्रधानमन्त्री ओली फर्किएपछिमात्रै टुङ्गिने

User Image Prime TV News एक महिना अगाडि
Image of देउवाले शिक्षा विधेयक टुङ्ग्याउन चाहेनन्, प्रधानमन्त्री ओली फर्किएपछिमात्रै टुङ्गिने

काठमाडौं, १७ असार । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्किएपछि शिक्षा विधेयक निष्कर्षमा पुग्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शिक्षा विधेयकको सन्दर्भमा नेपाल शिक्षक महासंघ र सरकारबीच केही असमझदारी रहेको बताए । हिजो शिक्षामन्त्री र महासंघका प्रतिनिधिबीच कुरा नमिलेको उनले बताए । नेता विश्वकर्माले शिक्षामन्त्री रघुजी पन्तले विधेयक पास गरौं भन्ने प्रस्ताव गर्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि शिक्षकहरु आन्दोलनमा आउने गरी पारित गर्न नहुने बताएर रोकेको बताए ।

‘आन्दोलनरत शिक्षकहरुको भावनालाई समेटेर, मागहरुलाई समेटेर ल्याउँछौं भनेकोमा अहिले प्रस्तुत विधेयकमा निष्कर्षको चरणमा पुग्दा आन्तरिक र बाह्यबाट ६० र मूल्याङ्कनको अंकको बारेमा पनि उहाँहरुको बिमती रह्यो । विमती रहेर उहाँहरु बैठकबाटै उठेर हिँड्नुभयो । उठेर हिँडेपछि शिक्षामन्त्री आत्तिनुभयो । के गर्ने भनेर सोध्न कांग्रेस सभापति र उपसभापतिलाई भेट्नै आउनुभयो । छलफल गर्दै जाँदा उहाँले के भन्नुभयो– शिक्षकहरु आन्दोलन गर्दैनन् । म मिलाउँछु र यो विधेयक पास गरौं भन्दा होइन, उहाँहरुको चित्त दुखाएर फेरि आन्दोलन हुने ढंगबाट विधेयक लान हुँदैन,’– विश्वकर्माले भने ।

साथै, अब प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्किएपछि विधेयकले निष्कर्षमा पुग्ने उनले बताए । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बसेर विधेयकलाई अन्तिम रुप दिने उनको भनाइ छ । ‘त्यसलाई उच्चस्तरमा छलफल गर्ने, उच्चस्तर भनेको कांग्रेसबाट शेरबहादुर देउवा हुनुहुन्छ । एमालेबाट केपी शर्मा ओली हुनुहुन्छ । केपी शर्मा ओली दुई दिनपछि नेपाल फर्किँदै हुनुहुन्छ । छलफल गरौं, सल्लाह गरौं, बरु दुई दिन लम्बियोस् । तर राम्रो आयोस् भन्नु परिपक्वता हो । जवाफदेहिता हो,’– उनले भने ।