नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन आगामी मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा गर्ने निर्णय गरिएको छ।
पार्टीको केन्द्रीय कार्यदलको बैठकले भृकुटीमण्डपमा स्थानको अभाव र यातायात व्यवस्थापनको समस्या देखिएपछि उद्घाटन कार्यक्रम भक्तपुरमा आयोजना गर्ने निर्णय गरेको हो। महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा गर्ने तयारी एमालेले गरेको थियो । तर त्यहाँ स्थानको कमी र कार्यकर्ता अटाउन समस्या हुने भन्दै एमालेले भक्तपुरको सल्लाघारीमा निर्णय गरेको हो।
महाधिवेशनको बन्द सत्र भने काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने छ। महाधिवेशनको उद्घाटन समारोहको तयारीका लागि विभिन्न समितिहरू पनि गठन गरिएको छ। महासचिव शंकर पोखरेलको संयोजकत्वमा सचिवालय समितिको नेतृत्वमा तयारी भइरहेको छ भने, विभिन्न समिति संयोजक र सचिवका रूपमा पार्टीका प्रमुख नेताहरू नियुक्त भएका छन्।
यसअघि, पार्टीले ११औं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो, तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपत्यका छोड्न रोक लगाएपछि उद्घाटन कार्यक्रम काठमाडौं सारिएको थियो।
महाधिवेशनको तयारीका लागि अहिले विभिन्न व्यवस्थापन समितिहरू सक्रिय छन्, जसमा प्रतिनिधि व्यवस्थापन, आवास व्यवस्थापन, खाद्य व्यवस्थापन, यातायात व्यवस्था, स्वास्थ्य समिति लगायतका समितिहरू बनेका छन्। यसका अलावा, निर्वाचन संयोजन समिति, स्वयंसेवक समिति र प्रचार समितिहरूसमेत गठन गरिएको छ।












