नेता गुरु घिमिरेको कटाक्ष: कांग्रेस केन्द्रीय बैठकले ‘संसारकै कीर्तिमान’ तोड्ने भन्दै गरे व्यंग्य

User Image Prime TV News एक महिना अगाडि
Image of नेता गुरु घिमिरेको कटाक्ष: कांग्रेस केन्द्रीय बैठकले ‘संसारकै कीर्तिमान’ तोड्ने भन्दै गरे व्यंग्य

काठमाडौ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गुरु घिमिरेले पार्टी केन्द्रीय कार्यसमिति बैठक अत्यधिक लम्बिँदै गएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

उनले असोज २८ गतेबाट सुरु भएको बैठक डेढ महिना बितिसक्दासमेत निष्कर्षमा नपुगेको उल्लेख गर्दै यसले संसारकै कीर्तिमान भंग गर्ने गति लिएको व्यंग्य गरे। बुधबार काठमाडौंमा आयोजित विशेष महाधिवेशन पक्षधर समूहको भेलामा बोल्दै घिमिरेले चिनियाँ कम्युनिस्ट पार्टीले इतिहासमै सबैभन्दा लामो २३ दिनको बैठक बसेको तथ्य स्मरण गर्दै, कांग्रेस नेतृत्वको निर्णयहीनता त्यसभन्दा बढेको टिप्पणी गरे।

“संसारमा सबैभन्दा लामो बैठक चिनियाँ कम्युनिस्ट पार्टीको रहेछ, जम्मा २३ दिन। हाम्रो त डेढ महिना पुग्दैछ,” घिमिरेले भने। उनले असोज, कात्तिक हुँदै मंसिर लागे पनि बैठकले कुनै ठोस नतिजा निकाल्न नसकेको बताए ।

घिमिरेले पार्टीको व्यवस्थापकीय कमजोरीतर्फ पनि ध्यानाकर्षण गराउँदै  कांग्रेसले निर्वाचन आयोगमा पार्टी दर्ता गराउन बल्लतल्ल सफल भएको उल्लेख गरे । उनले भने, “बल्लतल्ल निर्वाचन आयोगमा पार्टी दर्ता गरायौँ, त्यसपछि मात्र हामी चुनावमा भाग लिन सक्ने भयौँ।”

कांग्रेस केन्द्रीय समिति बैठक भोलि बस्ने भनिए पनि फेरि सारिने सम्भावना रहेको चर्चा पार्टीभित्र फैलिएको उनले बताए। “गर्ने हल्ला कहिल्यै सत्य हुँदैन, सर्ने हल्ला नै सत्य हुन्छ,” घिमिरेले कटाक्ष गरे। विगतकै अनुभवले बैठक बस्नेभन्दा सारिने सूचना नै प्रायः सही साबित हुँदै आएको नेता घिमिरेको भनाई छ ।