निजामती प्रशासन सुधार र जेनजीहरुको माग सम्बोधन गर्छुः मुख्यसचिव अर्याल
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार पदभार ग्रहण गरेसँगै मुख्यसचिव सुमनराज अर्यालले निजामती प्रशासन सुधार र सुशासनकालागि आफ्ना प्राथमिकता र दृष्टिकोण सार्वजनिक गरेका छन्।
अर्यालले सार्वजनिक प्रशासन सञ्चालन तथा व्यवस्थापनको जीवन्तता निजामती प्रशासनको स्वरुप, सबलता र क्रियाशीलतामा निर्भर हुने उल्लेख गर्दै भने, “निजामती प्रशासन जति चुस्त, स्वच्छ, इमान्दार र जनसेवी विकासमैत्री हुनेछ, मुलुकमा सुशासनको स्तर त्यत्ति नै माथि जानेछ।”
मुख्यसचिव अर्यालले अनुशासन र चेन अफ कमाण्डलाई निजामती सेवाका आधारभूत तत्व भएको बताउँदै, “यी तत्वलाई कुनै बहानामा भत्काउन वा बिगार्न हुँदैन। सबै कर्मचारीले यसलाई हृदयङ्गम गरी आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ,” भने।
उनले मुलुकको समृद्धि र सुशासनका लागि राजनीति र प्रशासन एकअर्काका पूरक भएको र आपसी विश्वास, समन्वय तथा सहयोग आवश्यक रहेको उल्लेख गरे। अर्यालले जेनजी पुस्ताका मागहरूलाई गम्भीरताका साथ ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, “जेनजी पुस्ताले असल र उत्तरदायी शासनको माग गरेका छन्। देशभित्रै गरिखाने वातावरण निर्माण गर्न दबाब दिएका छन्। यसलाई गम्भीरताका साथ मनन गरी निजामती सेवालाई जनउत्तरदायी, सदाचारयुक्त र आधुनिक प्रविधिमा आधारित नतिजामुखी प्रणालीको रुपमा स्थापित गर्न नेतृत्व तहले पहल गर्नुपर्छ।”
मुख्यसचिव अर्यालले आफ्नो पदमा व्यक्तिगत स्वार्थ वा एजेन्डा नभएको स्पष्ट पार्दै, जिम्मेवारीसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले सबै कर्मचारीलाई पेशागत क्षमता, इमान्दारी र जनसेवा मूलक दृष्टिकोणका साथ कार्य गर्न आग्रह पनि गरेका छन्।












