धनगढीमा नेता महेश बस्नेत विरुद्ध जेनजी युवाहरूको प्रदर्शन
Prime TV News ४ दिन अगाडि 
धनगडी । नेकपा एमालेका नेता महेश बस्नेतको धनगढी आगमनलाई लिएर जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
बुधबार दिउँसो बस्नेत एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न धनगढी आउँदै छन्। जेनजी युवाहरूले सडकमा प्लेकार्डसहित प्रदर्शन गर्दै आफ्नो असन्तोष व्यक्त गरेका छन्।
उनीहरूले “गुण्डाको गुण्डा गो ब्याक” र “जेनजीको रगतमा खेलबाड गर्न पाइँदैन” जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शनमा राखेका छन्। बस्नेतको सुरक्षा र विरोध प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ठूलो संख्यामा परिचालन गरिएको छ।
नेता बस्नेत प्लेनमार्फत धनगढी आउँदै छन् भने उनका कार्यक्रम कैलाली उद्योग वाणिज्य संघको सभाहलमा हुने भएकोले जेनजी युवाहरूले मार्गमा रहेको जेनजी चोकमा प्रदर्शन जारी राखेका छन्। प्रहरीका अनुसार प्रदर्शन शान्तिपूर्ण रूपमा सञ्चालन गराउँदै सुरक्षा व्यवस्थालाई सुनिश्चित गर्ने तयारी गरिएको छ।
विरोध प्रदर्शनका कारण धनगढीको मुख्य मार्गमा केही आवागमन प्रभावित भएको छ।












