विश्वविद्यालयहरूलाई पूर्ण स्वायत्तता आवश्यक छः प्रधानमन्त्री कार्की
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले देशभरका विश्वविद्यालयहरूलाई स्वायत्त बनाउनु अब अत्यावश्यक भएको बताएकी छन्। बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभामा बोल्दै उनले एउटै प्रधानमन्त्रीले १९ वटा विश्वविद्यालयको जिम्मेवारी वहन गर्नु व्यवहारिक नभएको स्पष्ट पारिन्।
उनले भनिन्, “एउटै व्यक्तिले सबै विश्वविद्यालयको भार बोकेर अघि बढ्न सकिँदैन। स्वायत्तताको माग उठ्दै आएको छ, अब विश्वविद्यालयहरूले आफ्नै योजना, कार्यक्रम र प्राथमिकता तय गर्न सक्ने वातावरण मिलाउनुपर्छ।”
कुलपति चयन प्रक्रियामा राजनीतिक प्रभाव हाबी हुने प्रवृत्तिले शैक्षिक क्षेत्र प्रभावित हुँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले कुलपति विज्ञमार्फत छानिने प्रणाली बनाउनुपर्नेमा जोड दिइन्। “राजनीतिक आधारमा नभई विशेषज्ञता र योग्यताका आधारमा नेतृत्व छानिनुपर्छ,” उनले भनिन्।
सभामा शिक्षामन्त्री तथा सहकुलपति महावीर पुनले त्रिवि जग्गा व्यवस्थापनसम्बन्धी समितिको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए। उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्न, परीक्षा प्रणालीमा भइरहेको ढिलासुस्ती हटाउन तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता र विद्यार्थी आकर्षित गर्न आवश्यक वातावरण बनाउन आग्रह गरे।
त्रिभुवन विश्वविद्यालयको २०८२/८३ का लागि नीति तथा कार्यक्रम पारित गर्दै सभाले विश्वविद्यालयको जग्गा संरक्षणका लागि तारबार–घेराबार निर्माण, अतिक्रमण हटाउने तथा राजधानी बाहिरका जग्गा खोजबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ। वित्तीय व्यवस्थापन सुदृढीकरणका लागि नीतिगत सुधार र स्वआर्जनका स्रोत पहिचान गर्ने योजनासमेत समावेश छन्।
उपकुलपति दीपक अर्यालले ‘पढ्दै कमाउँदै’ कार्यक्रम कृषि, पशु विज्ञान तथा वन विज्ञान अध्ययन संस्थानबाट सुरु गरी क्रमशः अन्य संकायमा विस्तार गर्ने जानकारी दिए।













