सर्वोच्च आगजनी प्रकरण : पूर्व स्ववियु सभापति विष्णु ढुंगेल पक्राउ

User Image Prime TV News ४ दिन अगाडि
Image of सर्वोच्च आगजनी प्रकरण : पूर्व स्ववियु सभापति विष्णु ढुंगेल पक्राउ

काठमाडौ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा भएको तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेललाई पक्राउ गरेको छ । बुधवार संयुक्त सुरक्षा टोलीले उनलाई चितवनबाट नियन्त्रणमा लिएको हो।

ढुंगेल तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेता समेत रहेकाले घटनामा उनी ‘सक्रिय भुमिका’मा रहेको भन्दै प्रहरीले केही समयदेखि निगरानी गरिरहेको थियो। संकलित भिडियो तथा फोटो फुटेजका आधारमा ढुंगेल सर्वोच्च परिसरमा भीडको अगाडि देखिएको प्रहरीको दाबी छ।

उनले भीडलाई उकास्दै न्यायालय र न्यायाधीशहरू विरुद्ध आक्रोश व्यक्त गरिरहेको दृश्य सामाजिक सञ्जालमा समेत फैलिएको थियो। यसअघि सोही प्रकरणमा पक्राउ परेका झापाको भद्रपुर–१ का ज्योति थापा घताने र ललितपुरका सुशील ‘ब्राउन’ श्रेष्ठको बयानले ढुंगेलप्रति शंका बलियो बनेको र उनीहरुले ढुंगेलकै उक्साहनपछि भिड सर्वोच्च परिसरमा प्रवेश गरेको बताएका छन्।

दुवैजनालाई आपराधिक उपद्र्व मुद्दामा म्याद थपेर हिरासतमा राखिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र जिल्ला प्रहरी परिसर, भद्रकालीको संयोजनमा गरिएको संयुक्त अनुसन्धानले ढुंगेलको पहिचान पुष्टि गरेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो।