युक्रेन–रूस युद्ध : ट्रम्पको विशेष दूत मस्को पठाउने तयारी, शान्ति प्रस्ताव अन्तिम चरणमा

User Image Prime TV News ४ दिन अगाडि
Image of युक्रेन–रूस युद्ध : ट्रम्पको विशेष दूत मस्को पठाउने तयारी, शान्ति प्रस्ताव अन्तिम चरणमा

काठमाडौ । युक्रेनमा जारी जटिल युद्ध अन्त्य गर्ने प्रयास तीव्र बन्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफलाई आगामी हप्ता मस्को पठाइने घोषणा गरेसँगै कूटनीतिक हलचल नयाँ मोडमा प्रवेश गरेको छ।

राष्ट्रपति ट्रम्पका अनुसार युक्रेन–रूसबिच प्रस्तावित शान्ति सम्झौता अन्तिम चरणमा पुगेको संकेत स्पष्ट देखिन थालेको छ। ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत दिएका ताजा टिप्पणीमा “केवल केही विवादित बुँदा बाहेक सहमतिका अधिकांश आधार निश्चित भइसकेका छन्” भन्दै चाँडै प्रगति सार्वजनिक हुन सक्ने संकेत दिए।

उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुवैसँग प्रत्यक्ष भेटवार्ताको सम्भावना पनि औँल्याउदै सम्झौता अंतिम अवस्थामा पुगेपछि मात्र भेट सम्भव हुने बताएका छन् । विटकफले यसअघि पुटिनको विदेश नीति सल्लाहकारसँग विस्तृत छलफल गरेका थिए ।

जसको आधारमा वासिङ्टनले प्रस्तुत गरेको २८–सूत्रीय प्रारम्भिक प्रस्ताव बनेको थियो। तर उक्त प्रस्ताव रूसतर्फ झुकेको भन्दै किएभले कडा आपत्ति जनाएपछि अमेरिकाले युक्रेनका प्राथमिकतालाई केन्द्रमा राखेर नयाँ प्रस्ताव तयार पारेको हो ।

अमेरिकी प्रशासनका एक अधिकारीका अनुसार अद्यावधिक प्रस्ताव पहिलेको संस्करणभन्दा उल्लेखनीय रूपमा सन्तुलित र युक्रेनहितमैत्री भएको बताएका छन् । प्रस्तावमा युक्रेनको भविष्यका रक्षा क्षमता पुनर्गठनसम्बन्धी बुँदामा परिवर्तन गरिएको छ ।

पहिले तोकिएको ६ लाख सैनिक क्षमताको सीमा बढाएर करीब ८ लाख गरिने व्यवस्था राखिएको बताइएको छ। विटकफ चाँडै मस्को पुगेर पुटिनसँग यही संशोधित खाका प्रस्तुत गर्दै बाँकी विवादास्पद बुँदामा सहमति खोज्ने तयारीमा छन्।

ट्रम्पले पनि आफ्नो विदेश नीति टोलीसहित जारेड कुशनर मस्को वार्तामा सहभागी हुन सक्ने बताएका छन्। ट्रम्प प्रशासनले वार्तालाई सकारात्मक गतिमा अगाडि बढिरहेको बताइरहे पनि युरोपेली नेताहरू भने अति उत्साहित देखिएका छैनन्।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले रूसको वर्तमान कूटनीतिक मनोवृत्ति युद्धविरामतर्फ उन्मुख छैन भन्दै द्रुत समाधानको सम्भावनाप्रति शंका प्रकट गरेका छन्।