नियमित महाधिवेशनको दबाब बढ्दै, कांग्रेस सम्बद्ध युवा विद्यार्थीले बृहत भेला गर्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको माग तीव्र बन्दै गइरहेका बेला पार्टी–सम्बद्ध युवा, विद्यार्थी तथा सरोकार समूहले मंसिर १२ गते बृहत भेला गर्ने भएका छन्। तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा बिहान ११ बजे आयोजना हुने भेला तयारीबारे विद्यार्थी नेता मनिषजंग थापाले जानकारी दिए।
भेला तयारीका लागि बुधबार राजधानीको जमलस्थित येल्लो प्यागोडामा बैठक बसेको थियो। बैठकले पार्टीभित्र चलिरहेको महाधिवेशन बहसलाई सुदृढ गर्न भेला आयोजना गर्ने र सभामा नियमित अधिवेशनको पक्षमा शीर्ष वक्ताहरूले सम्बोधन गर्ने निर्णय गरेको छ।
बैठकमा बाग्लुङ कांग्रेसका सभापति जित शेरचन, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, महिला संघकी अध्यक्ष उषा मिश्र, नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिना लगायतका नेताहरूको उपस्थिति रहेको थियो। सहभागीहरूका अनुसार संगठनका विभिन्न निकायका महिला, तरुण, युवा तथा विद्यार्थी केन्द्रीय सदस्यहरू समेत बैठकमा सक्रिय उपस्थित थिए।
मंसिर १२ को कार्यक्रमका दिन विभिन्न स्थानबाट र्यालीसहित कार्यकर्ताहरू सभास्थलमा उपस्थित हुने तयारी भइरहेको बताइएको छ।













