विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बिच एकता हुने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको छ।
समीक्षा बास्कोटाको नेतृत्वमा रहेको पार्टीले बुधबार सम्पन्न केन्द्रीय समिति बैठकमार्फत वैकल्पिक राजनीतिक मोर्चाहरूलाई एक ठाउँमा ल्याउने प्रस्तावलाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग औपचारिक रूपमा एकीकरण प्रक्रियामा प्रवेश गरेको घोषणा गरेको हो।
बैठकले पार्टी उपाध्यक्ष तथा संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले अघि सारेको ‘बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव’लाई आधार मानेर एकीकृत संरचना निर्माणको मार्ग खुला गरेको छ।
परियारका अनुसार मुलुकमा वैकल्पिक राजनीतिक शक्तिप्रतिको आवश्यकता तीव्र बन्दै गएको र युवापुस्ताको सक्रिय दबाबले पनि दललाई एकीकरणतर्फ धकेलेको वताए ।
दुवै दलबीचको प्राविधिक सहमति भने अझै पूर्ण रूपमा टुंगिएको छैन। संगठनात्मक संरचना, नेतृत्व पदभार तथा सिद्धान्तगत समायोजनजस्ता विषयमा उच्चस्तरीय तहमा छलफल जारी रहेको र छिट्टै निष्कर्षमा पुगिने दुवै पक्षले बताएका छन्।
यसैबीच, आगामी आइतबार राष्ट्रिय सभागृहमा संयुक्त घोषणा कार्यक्रम आयोजना गरी एकीकरणलाई सार्वजनिक रूपमै औपचारिकता दिइने तयारी गरिएको छ।













