नेपालको पछिल्लो घटनाक्रमप्रति अमेरिकी सिनेटरहरूको चासो, शान्तिपूर्ण प्रजातान्त्रिक अभ्यासको आग्रह


काठमाडौँ । अमेरिकी सिनेटको वैदेशिक मामिलासम्बन्धी कमिटीका सदस्यहरू जिन शहिन र क्रिस भ्यान होलेनले नेपालमा विकसित पछिल्लो घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेका छन् । विज्ञप्ति जारी गर्दै उनीहरूले शान्तिपूर्ण तथा प्रजातान्त्रिक प्रक्रियामार्फत समस्याको समाधान खोज्न आग्रह गरेका छन्।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, “नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। ती उपलब्धिहरू नेपाली जनताको दृढ संकल्प र योगदानबाट सम्भव भएका हुन्, त्यसैले ती उपलब्धिको संरक्षण आजको आवश्यकता हो।”
सिनेटरहरूले हालै भएका हिंसात्मक घटना, मानवीय क्षति र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। यस्ता गतिविधि अस्वीकार्य रहेको उल्लेख गर्दै पीडित र उनीहरूको परिवारप्रति सहानुभूति प्रकट गरिएको छ।
साथै, नागरिकहरूविरुद्ध भएको दमनको निष्पक्ष छानबिन गरी जिम्मेवार पक्षलाई कानुनी दायरामा ल्याइनुपर्ने माग समेत गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “शान्ति, पूर्ण प्रजातन्त्र र गतिशील नेपाल न केवल नेपाली जनताको आकांक्षा हो, यो अमेरिका र सम्पूर्ण क्षेत्रको पनि साझा चासोको विषय हो।”
सिनेटरहरूले भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरीको समाधानका लागि नेपाल सरकारले आवश्यक कदम चाल्ने विश्वास व्यक्त गरेका छन्। नागरिकको विश्वास पुनः प्राप्त गर्न स्थायित्व, पारदर्शिता र जवाफदेहिताको संस्कृति विकास गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।