कांग्रेसमा महाधिवेशनको बिकल्प छैन, पार्टीको आगामी नेतृत्व गगन थापाले लिनुपर्ने माग

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसमा महाधिवेशनको बिकल्प छैन, पार्टीको आगामी नेतृत्व गगन थापाले लिनुपर्ने माग

काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग खुलेर उत्रिएको छ।

बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा विशेष महाधिवेशन पक्षधरहरूले आयोजना गरेको विशेष भेलाले पार्टीको आगामी नेतृत्व गगन थापाले लिनुपर्नेको माग खुला रूपमा अघि सारेको छ।

भेलामा सहभागी नेताहरूले अहिलेको नेतृत्वले पार्टीलाई कमजोर बनाएको भन्दै अब नयाँ पुस्तालाई जिम्मा दिनुपर्ने ठहर गरेको हो । भेलामा केन्द्रीय सदस्यहरू, गण्डकी कांग्रेस सभापति शुक्रराज शर्मा, लुम्बिनी सभापति अमरसिंह पुनलगायत नेतृत्व तहका व्यक्तिहरूको उपस्थिति उल्लेख्य रह्यो।

विद्यार्थी नेता अनुपम जीसीले विशेष महाधिवेशनका पक्षमा ५४ प्रतिशत हस्ताक्षर पार्टी नेतृत्वलाई बुझाइसकिएको भन्दै यसलाई बेवास्ता गर्नु नेतृत्वकै कमजोरी ठहरिने बताए। उनका अनुसार थापाले प्रस्तुत गरेको मितिमै विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्ष भेलाले निकालेको हो।

नेता गुरु घिमिरेले पार्टीलाई पुरानै अनुहार र पुरानै शैलीले अर्को चुनावमा लैजाने प्रयास राजनीतिक आत्मघात हुने चेतावनी दिए। उनले लामो समयसम्म केन्द्रीय समिति बैठक होल्ड गरेर पार्टीलाई अनावश्यक अनिश्चिततामा राखिएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरे।

गण्डकी सभापति शुक्रराज शर्माले अधिवेशन गर्न नसक्ने नेतृत्वले पार्टी चलाउने नैतिक आधार हराएको टिप्पणी गर्दै विशेष महाधिवेशन अब अनिवार्य भएको दाबी गरे।

राजनीतिक विश्लेषक हरि शर्माले पनि पार्टीले कार्यकर्ताको भावना विपरीत बाटो लिन नपाउने र कांग्रेसलाई पुरानै मोडेलमा बाँधेर राख्ने कुनै विकल्प अब बाँकी नरहेकाले महाधिवेशन नै समाधान हुने विश्लेषण प्रस्तुत गरे।

भेलामा सहभागी नेताहरूले हालको नेतृत्वले पार्टीलाई ब्याक गियरमा हँकाइरहेको आरोप लगाउँदै अब कांग्रेसलाई नयाँ दिशा दिन नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन् ।