कन्काई पुल निर्माणको ठेक्का १४ वर्षपछि रद्द, ठेकेदारको जमानत जफत

User Image Prime TV News एक महिना अगाडि
Image of कन्काई पुल निर्माणको ठेक्का १४ वर्षपछि रद्द, ठेकेदारको जमानत जफत

काठमाडौ । हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई नदी पुल निर्माणको ठेक्का १४ वर्षपछि रद्द गरिएको छ।

सडक विभाग मातहत हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले पप्पु–महादेव–खिम्ती संयुक्त उपक्रम (जेभी)सँग भएको ठेक्का सम्झौता बिहीबार औपचारिक रूपमा अन्त्य गरेको हो।

७२३ मिटर लम्बाइको पक्की पुल डिजाइन एण्ड बिल्ड मोडेलमा निर्माण गर्ने सम्झौता ३१ जेठ २०६८ मा भएको थियो। ३० जेठ २०७२ भित्र निर्माण सक्नेगरी ठेक्का सम्झौता भए पनि पाँच पटक म्याद थप्दा पनि कार्यप्रगति करिब ५६ प्रतिशत मात्र पुगेपछि ठेक्का रद्द गरिएको योजना कार्यालयले जनाएको छ।

३४ करोड ९ लाख रुपैयाँ लागत अनुमानित परियोजनामा प्रगति अत्यन्त सुस्त बन्नु, कार्यक्षमता नदेखिनु र बारम्बार म्याद थप्दा पनि परिणाम नआएको कारण ठेक्का रद्द गरिएको बताइएको छ ।

ठेक्का रद्दसँगै ठेकेदारको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत समेत जफत गरिने योजना कार्यालयले जनाएको छ। पुल अलपत्र परेपछि स्थानीयवासी वर्षौँदेखि अस्थायी वैकल्पिक मार्गबाट जोखिमपूर्ण यात्रामा निर्भर छन्।

सडक विभागले अब नयाँ प्रक्रिया मार्फत पुनः ठेक्का बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको छ।