वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वढ्यो

User Image Prime TV News ४ दिन अगाडि
Image of वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वढ्यो

काठमाडौ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण शुल्क एकैचोटि ३ हजार रुपैयाँले बढेर ९ हजार ५ सय पुगेको छ।

यसअघि ६ हजार ५ सय रहेकामा नयाँ दर लागू भएपछि श्रमिकहरू थप आर्थिक बोझमा परेका छन्। यो शुल्क वृद्धिको निर्णय तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ८ चैत २०८१ मा गरेका थिए।

निर्णयअनुसार स्वास्थ्य परीक्षणलाई गुणस्तरीय बनाउन ३४ प्रकारका परीक्षण अनिवार्य गरिएका छन्। तर निर्णय त्यतिबेला विवादका कारण कार्यान्वयनमा आउन सकेको थिएन। हाल श्रम मन्त्रालय प्रधानमन्त्री सुशीला कार्की मातहत रहेकाले विभागीय मन्त्री नभएको अवस्थाको ‘फाइदा उठाउँदै’ स्वास्थ्य संस्थाहरूले शुल्क वृद्धि लागू गरेको आरोप उठेको छ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले संयुक्त सूचना निकालेर संघअन्तर्गतका स्वास्थ्य संस्थालाई नयाँ मूल्य सूचि लागू गर्न निर्देशन दिएका छन्। सरकारकै मन्त्रीस्तरीय निर्णय भए पनि अहिलेको संवेदनशील अवस्थामा व्यवसायीहरूले शुल्क बढाएर श्रमिकको बोझ बढाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

श्रम मन्त्रालयले भने सरकारले २०८१ मा गठित अध्ययन कार्यदलको प्रतिवेदन तथा वैदेशिक रोजगार नियमावली २०६४ अनुसार नै शुल्क समायोजन गरेको जनाएको छ । जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारमाथि श्रमिकको हितविपरीत निर्णय कार्यान्वयन गरेको आरोप लाग्दै गएको छ।

शुल्क वृद्धि उच्च रहेको र एकैपटक लागू गरिनु अन्यायपूर्ण भएको भन्दै श्रमिक समूह, वैदेशिक रोजगार व्यवसायी, तथा श्रमिक अधिकारकर्मीहरूले विरोध जनाइरहेका छन्।