हङकङको ताई पोमा भीषण आगलागी : मृत्यु ४४ पुग्यो, २७९ अझै बेपत्ता
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । हङकङको ताई पो क्षेत्रस्थित ‘वाङ फुक कोर्ट’ आवासीय परिसरमा मंगलबार दिउँसो भएको विनाशकारी आगलागीमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ४० जनाको घटनास्थलमै र चार जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको पुष्टि गरिएको हो। घटनामा परी ४५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।आगलागीको जानकारी स्थानीय प्रशासनलाई दिउँसो २:५१ बजे गराइएको थियो।
हङकङका प्रमुख कार्यकारी जोन लीले पत्रकार सम्मेलनमा २७९ जना अझै बेपत्ता रहेको बताए। उद्धार तथा खोजी कार्य रातभर जारी रहेको छ । प्रहरीका अनुसार आगलागी भएको भवनमा मर्मतसम्भार कार्य भइरहेको थियो। घटनास्थलमा झ्यालहरू बन्द गर्न प्रयोग गरिएका पोलिस्टीरिन बोर्डहरू भेटिएको र ती सामग्रीले आगो झन छिटो फैलन मद्दत गरेको हुन सक्ने बताइएको छ।
लापरवाहीकै आधारमा तीन जना पक्राउ गरिएको छ। प्रहरी प्रवक्ताले कम्पनीका जिम्मेवार व्यक्तिहरूको लापरवाहीका कारण आगो अनियन्त्रित बनेको आरोप लगाएको छ । बिहानसम्म पनि केही टावर ब्लकहरूबाट बाक्लो धुवाँ उठिरहेको देखिएको छ।
आठ वटा टावरमध्ये चारमा मात्रै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको अधिकारीहरूले जनाएका छन्। घटनास्थल क्षेत्रमा उद्धारकर्ता टोली, स्वास्थ्यकर्मी तथा दमकलकर्मी अझै उच्च सतर्कतासहित परिचालनमा छन्।











