सुप्रिम सहकारी ठगी मुद्दा : रवि लामिछाने र छविलाल जोशीको सुनुवाइ स्थगित

User Image Prime TV News एक महिना अगाडि
Image of सुप्रिम सहकारी ठगी मुद्दा : रवि लामिछाने र छविलाल जोशीको सुनुवाइ स्थगित

काठमाडौ । बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, लामिछानेका कानूनी पक्षकारले आजको सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए । जसका कारण सुनुवाइ आजका लागि अगाडि बढाउन नसकिएको हो।

मुद्दा न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलासमा परेको थियो। लामिछानेले जिल्ला अदालतको आदेशअनुसार बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउने अधिकार माग्दै उच्च अदालतमा निवेदन दिएका थिए। यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा रहेको मुल अभियोगको मिसिल माग्ने आदेश दिएको थियो।

अघिल्लो बिहीबार पनि लामिछानेका कानूनी पक्षकारले सुनुवाइ स्थगित गर्न निवेदन दिएका कारण सुनुवाइ अघि बढ्न सकेको थिएन। सुप्रिम सहकारी ठगीमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ।

लामिछानेले आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतको रूपमा पेस गरेका छन् भने जोशीले पनि त्यति नै रकम पेस गरेका छन्। हाल, लामिछाने ललितपुर नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा रहेका छन्।