कांग्रेस विशेष महाधिवेशन पक्षधरको अडान : नियमित महाधिवेशन कार्यतालिकामा सहमति छैन

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस विशेष महाधिवेशन पक्षधरको अडान : नियमित महाधिवेशन कार्यतालिकामा सहमति छैन

काठमाडौ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले आफूहरूले उठाएको मागलाई कमजोर पार्ने उद्देश्यसहित ल्याइने नियमित महाधिवेशनको कार्यतालिका अस्वीकार्य हुने स्पष्ट पारेका छन्।

बिहीबार जारी वक्तव्यमा उनीहरूले कुनै पनि बहाना वा अविश्वसनीय कार्यतालिकाले विशेष महाधिवेशनको मागलाई निष्क्रिय पार्न सक्दैन भनेका छन् । उनीहरुले आफ्नो अडान अनुसार, वर्तमान कार्यसमितिको कार्यकाल थप नगरी नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित भएको अवस्थामा मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय बताए ।

अन्यथा, पार्टी विधानले दिएको वैधानिक अधिकार विशेष महाधिवेशन कसैले रोक्न वा अतिक्रमण गर्न सक्दैन भनेका छन् । वक्तव्यमा आफूहरुको उद्देश्य महाधिवेशनको कार्यतालिका माग गर्नु नभइ महाधिवेशनको सुनिश्चिता सुनिश्चित गर्नु भएको उल्लेख गरेका छन् ।

“हामीले चुनावअघिको शक्ति–व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौं,” विज्ञप्तिमा भनिएको छ। विधान अनुसार, विशेष महाधिवेशन प्रस्ताव दर्ता भएको मितिले तीन महिनाभित्र आह्वान गर्नुपर्ने वाध्यात्मक व्यवस्था रहेको उल्लेख गरिएको छ।

पक्षधरहरूले नेतृत्वलाई प्रश्न गर्दै भनेका छन्,“केन्द्रीय कार्यसमिताका लागि पनि विधान समान रूपमा लागू हुँदैन? देश, लोकतन्त्र र पार्टीको हित सर्वोपरी हो कि व्यक्तिगत स्वार्थ?” विशेष महाधिवेशन पक्षधरहरूले पार्टीको आन्तरिक निर्णय अन्योल र महाधिवेशन प्रक्रियाको ढिलाइले कांग्रेसलाई गम्भीर संकटको मोडमा उभ्याएको बताए।

करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले वैधानिक रूपमा अघि सारेको मागलाई नेतृत्वले बेवास्ता गरेको भन्दै दुःख व्यक्त समेत गरेका छन् ।