प्रधानमन्त्री कार्कीद्वारा सामाजिक सुरक्षा प्रणालीलाई दिगो र सबल बनाउने प्रतिबद्धता
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर रहेको बताएकी छन्।
बिहीबार सिंहदरबारमा आयोजित आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा उनले वर्तमान सरकारको कार्यकाल छोटो भए पनि सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा प्रणाली अन्तर पुस्ता लागत सन्तुलन र समतामूलक बनाउन योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् ।
यसबाट धनीले गरिबलाई, निरोगीले रोगीलाई सहयोग गर्ने सामाजिक ऐक्यबद्धताको सिद्धान्तमा आधारित उत्पादनमूलक समाजको निर्माण सम्भव हुने उनले बताइन्। प्रधानमन्त्री कार्कीले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको सफल कार्यान्वयनबाट हरेक नागरिकलाई स्वदेशमै श्रम गरेर बस्ने वातावरण तयार हुने र समग्र उत्पादकत्व अभिवृद्धि हुने विश्वास व्यक्त गरिन्।
साथै, सरकारी करारमा रहेका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध भएको महसुस गराउने र कोषको रकमलाई न्यायोचित प्रतिफलसहित आन्तरिक पुँजीको रूपमा प्रयोग गर्ने विषयमा सरकारले छलफल गर्ने प्रतिबद्धता जनाइन्।
सामाजिक सुरक्षा कोषका अनुसार हालसम्म करिब २६ लाख ५० हजार नागरिक योगदानमा आधारित सामाजिक सुरक्षामा समेटिएका छन्। कोषमा हालसम्म ९५ अर्ब ६८ करोड रुपैयाँ सङ्कलन भइसकेको छ भने करिब २ लाख ५३ हजार श्रमिकले विभिन्न सुविधाबापत रु १७ अर्ब ७२ करोड भुक्तानी लिइसकेका छन्।












