नेता भुसालले गरे पुराना नेताको आलोचना : देश द्वन्द्वतर्फ जाने खतरा छ
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले पुराना नेताहरूको नियन्त्रणमा राजनीति गए मुलुक ठूलो द्वन्द्वतर्फ प्रवेश गर्न सक्ने चेतावनी दिएका छन्।
बिहीबार चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) सँगको एकता घोषणाबारे जानकारी दिने क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन्। भुसालले भने, “ठूला पार्टीका नेताहरूले दरकिनार गर्दै छन्।
हिजो समाजले अस्वीकार र बहिष्कार गरेका ती व्यक्तिहरू फेरि गुटबन्दी र गिरोहमार्फत राष्ट्रिय राजनीतिको लगाम समाउने प्रयास गर्दैछन्।” उनले पुराना नेताहरूको असली अनुहार ढाकछोप भए पनि राजनीति उनीहरूको हातमा गयो भने मुलुक डरालाग्दो द्वन्द्वमा प्रवेश गर्ने बताए।
उनले राजनीतिको शीर्षमा बसेर आफ्नै स्वार्थ पूरा गर्ने केही नेताका कारण मुलुक बहुपक्षीय द्वन्द्व र असफलतातर्फ जान सक्ने खतरा रहेको टिप्पणी गरे । भुसालले नेपाली कम्युनिस्ट पार्टीमा वैचारिक बहस उठाउने बित्तिकै पार्टी चार टुक्रा हुने प्रवृत्ति रहेको दाबी गर्दै वैचारिक कुरा नगरी केवल चुनाव र शक्ति केन्द्रित विषयमा ध्यान दिनेलाई आलोचना गरेका छन्।













