शीतल निवास क्षेत्रको सुरक्षा व्यवस्था कडा


काठमाडौं । राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नयाँ सरकार गठनको प्रक्रिया तीव्र बन्दै गएको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेल राजनीतिक दलका शीर्ष नेताहरूसँग निरन्तर छलफलमा जुटिरहनु भएका कारण शीतल निवास वरिपरि सुरक्षा सतर्कता उच्च बनाइएको हो।
शुक्रबार बिहान ११ बजेदेखि शीतल निवास क्षेत्र आसपास निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा लागू भएसँगै उक्त क्षेत्र हुँदै हुने आवतजावतमा कडाइ गरिएको छ। सुरक्षाको नेतृत्व नेपाली सेनाले गरिरहेको छ भने अन्य सुरक्षा निकाय पनि उच्च सतर्कतामा राखिएका छन्।
सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढिरहेका बेला सम्भावित प्रदर्शन, भीडभाड र अन्य सुरक्षा चुनौतीलाई ध्यानमा राखी कडाइ गरिएको सुरक्षा व्यवस्था अस्थायी भएको सुरक्षा स्रोतले जनाएको छ।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरूसँग आवश्यक परामर्श जारी राखेका छन् । अहिलेको राजनीतिक परिवेशलाई मध्यनजर गर्दै राष्ट्रपति निवास वरिपरि शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न सुरक्षा निकाय सक्रिय रहेका छन्।