बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई २१ वर्ष जेल सजाय सुनायो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । बंगलादेशको अदालतले बिहीबार अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई तीन भ्रष्टाचार मुद्दामा कुल २१ वर्षको जेल सजाय सुनाएको छ।
सरकारी समाचार एजेन्सी बीएसएसका अनुसार, पुरबाचोलको राजुक न्यु टाउन परियोजनामा प्लट बाँडफाँडमा अनियमितता गरेको आरोपमा दर्ता भएका ती तीन मुद्दामा अदालतले फैसला सुनाएको हो। शेख हसिना हालसम्म पक्राउ नपरेकी भएकाले सुनुवाइ उनको अनुपस्थितिमा गरिएको थियो।
ढाकाका विशेष न्यायाधीश–५ मोहम्मद अब्दुल्ला अल मामुनले तीन प्लट जालसाजी मुद्दामा प्रत्येकमा सात वर्ष जेल सजाय सुनाएर कुल २१ वर्ष जेल सजाय तय गरेका छन्। अदालतले शेख हसिनाका छोरा सजिब वाजेद जयलाई पाँच वर्ष जेल र एक लाख टाका जरिवाना, छोरी साइमा वाजेद पुतुललाई पनि पाँच वर्ष जेल सजाय सुनाएको छ। बाँकी तीन मुद्दाको फैसला डिसेम्बर १ मा हुने जनाएको छ।
बंगलादेशको भ्रष्टाचार निवारण आयोग (एसीसी) ले जनवरीमा पुरबाचोल क्षेत्रमा सरकारी प्लटहरू गैरकानुनी रूपमा बाँडफाँड गरेको आरोपमा शेख हसिना र उनका परिवारका सदस्यविरुद्ध ६ छुट्टाछुट्टै मुद्दा दर्ता गरेको थियो।
यसअघि, बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले सन् २०२४ को सरकारविरोधी प्रदर्शन दमन प्रयासको आरोपमा शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइसकेको थियो।
शेख हसिना र उनका परिवार फरार रहेकाले सुनुवाइमा उनीहरूका तर्फबाट कोही वकिल उपस्थित थिएनन्। यद्यपि, उनीहरूले विभिन्न बयानमा आफू भ्रष्टाचारमा संलग्न नभएको दाबी गर्दै आएका छन्।













