पूर्वसभामुख महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश
Prime TV News एक महिना अगाडि 
काठमाडौ । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा राखिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
उच्च अदालत पाटनका न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलाशले बिहीबार महरालाई थुनामुक्त गराउने आदेश गरेको हो। यसअघि जिल्ला अदालत काठमाडौंले असोज २९ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रोनिक चुरोट (भेप) भित्र लुकाएर ल्याएको सुनमा संलग्नताको आशंकामा महरासहित अन्य व्यक्तिहरूमाथि सीआइबीले अनुसन्धान गरेकाे थियो। महराले भने सम्पूर्ण आरोप अस्वीकार गर्दै, भेप प्रकरणमा आफ्नो कुनै संलग्नता वा लगानी नरहेको दाबी गर्दै आएका छन्।
सरकारी वकिलले महराविरुद्ध संगठित अपराध निवारण ऐन र भन्सार ऐनअन्तर्गत मुद्दा दायर गरी करिब ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ। उच्च अदालतको आदेशपछि महरा अब थुनाबाहिर बसेर मुद्दा लड्न सक्ने भएका छन्।













