तेजाब आक्रमण पीडित तथा अभियन्ता मुस्कान खातुन नेकपाको केन्द्रीय सदस्य

User Image Prime TV News एक महिना अगाडि
Image of तेजाब आक्रमण पीडित तथा अभियन्ता मुस्कान खातुन नेकपाको केन्द्रीय सदस्य

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले महिला हिंसा विरुद्धको अभियानमा सक्रिय भूमिका निभाउँदै आएकी अभियन्ता मुस्कान खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेको छ।

बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधवकुमार नेपालले खातुनलाई पार्टीको केन्द्रीय समिति सदस्यमा समावेश गर्ने घोषणा सार्वजनिक गरेका हुन् ।

१५ वर्षको उमेरमा तेजाब आक्रमणको शिकार बनेकी मुस्कान पछिल्ला वर्षहरूमा महिला हिंसा विरुद्धको प्रमुख आवाजका रूपमा उदाएकी छन्। निरन्तर अभियानका कारण उनले तेजाब आक्रमण रोकथाम तथा कानुनी कडाइका लागि उल्लेखनीय योगदान दिएकी छिन्।

सन् २०२१ मा उनी ‘इण्टरनेशनल वुमन अफ करेज अवार्ड’ प्राप्त गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत सम्मानित भएकी थिइन्। कार्यक्रममा बोल्दै खातुनले सबै प्रकारका हिंसा अन्त्य गर्न सबैले साझा जिम्मेवारी लिनुपर्नेमा जोड दिईन्। “तेजाब आक्रमण मात्रै हिंसा होइन। दिदीबहिनीले झेल्नुपर्ने अन्य अनेकौँ हिंसाको अन्त्य आवश्यक छ,” उनले भनिन्।

देशमा व्याप्त भ्रष्टाचार, दमन र हिंसा अन्त्य गर्न पार्टीले प्रभावकारी भूमिका खेलोस् भन्ने अपेक्षा राख्दै उनले नयाँ पुस्ताको बदलिँदो चाहना अनुसार काम गर्न नेतृत्वलाई आग्रह गरिन्।