प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि राष्ट्रपति पौडेलद्वारा सेना परिचालनको स्वीकृति
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालनको स्वीकृति प्रदान गरेका छन्।
बिहीबार राष्ट्रपति कार्यालयले जानकारी दिएअनुसार, मन्त्रिपरिषद्को माघ ८ गतेको निर्णयका आधारमा सेनालाई निर्वाचन सुरक्षामा खटाउन स्वीकृति दिएको हो। यससँगै आगामी निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई थप कडा बनाइनेछ।
नेपाल प्रहरीले आन्तरिक सुरक्षाको मुख्य जिम्मेवारी वहन गर्नेछ भने सशस्त्र प्रहरी बल र नेपाली सेना सहयोगी भूमिकामा रहनेछन्।सरकारका अनुसार संवेदनशील र अत्यधिक जोखिमयुक्त क्षेत्रमा सुरक्षाको स्तर बढाइनेछ ।
सम्भावित सुरक्षाजन्य चुनौतीलाई ध्यानमा राख्दै तीन तहको सुरक्षा संरचना प्रभावकारी रूपमा लागू गरिने तयारी सरकारको छ । निर्वाचन नजिकिँदै गर्दा सुरक्षा निकायहरूबीच समन्वय, क्षेत्रगत जोखिम मूल्यांकन तथा तैनाथी योजनाहरूलाई अन्तिम रूप दिने कार्य तीव्र रूपमा भइरहेको छ।













