विधिको शासन र संविधानको मार्गबाट बाहिर नजान सभामुख र राष्ट्रियसभा अध्यक्षको संयुक्त अपिल


काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले देशको हालको संवेदनशील परिस्थितिमा समाधान खोज्दा संविधान र विधिको सीमाभित्रै रहनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पछिल्लो समय जेनजी आन्दोलनका नाममा भइरहेका गतिविधिहरूको पृष्ठभूमिमा संविधानबाहिर जाने प्रयास कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति महोदयको नेतृत्वमा भइरहेको पहलको हामी समर्थन गर्छौं।”
दुई शीर्ष नेताहरूले देशमा भइरहेको आन्दोलनप्रति गहिरो चासो व्यक्त गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका सबै युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “आन्दोलनको क्रममा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी र युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको उपचारमा कुनै कमी नहोस् भनी सम्बन्धित राज्य संयन्त्रलाई आग्रह गर्दछौं।”
सभामुख र राष्ट्रियसभा अध्यक्षले आन्दोलनरत पक्षका जायज मागहरू सम्बोधन गर्दै देशलाई अझ समावेशी, समृद्ध र लोकतान्त्रिक दिशातर्फ अघि बढाउन सबै राजनीतिक र सामाजिक पक्षलाई अपिल गरेका छन्।
उनीहरूले भदौ २४ गते संसद भवन, सिंहदरबारलगायतका सरकारी तथा निजी सम्पत्ति, सञ्चार गृहहरू र ऐतिहासिक दस्तावेजहरूमा गरिएको आगजनी तथा तोडफोडप्रति गहिरो दुःख व्यक्त गरेका छन्। यस्तो हिंसात्मक गतिविधिले मुलुकलाई थप अस्थिरतात

र्फ लैजाने चेतावनी दिँदै, शान्तिपूर्ण संवाद र संवैधानिक मार्गमार्फत समाधान खोज्न सबै पक्षलाई आग्रह गरिएको छ।