एमालेलाई औपचारिक रूपमा चुनावमा सहभागी हुन प्रधानमन्त्री कार्कीको आग्रह

User Image Prime TV News ३ दिन अगाडि
Image of एमालेलाई औपचारिक रूपमा चुनावमा सहभागी हुन प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौ ।आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताबीच बिहीबार बालुवाटारमा महत्त्वपूर्ण भेटवार्ता भएको छ।

प्रधानमन्त्रीले निर्वाचनलाई तय समयमै सम्पन्न गराउन सरकारले पूर्ण तयारीका साथ अघि बढिरहेको बताउँदै, एमालेलाई औपचारिक रूपमा चुनावमा सहभागी हुन आग्रह गरेकी हुन्।

छलफलमा सहभागी एमाले नेता महेश बर्तौलाका अनुसार, एमालेले सरकार निष्पक्ष र सुरक्षित वातावरण बनाउन सफल भए चुनावमा सहभागी हुन कुनै हिचकिचाहट नराख्ने स्पष्ट धारणा प्रधानमन्त्रीसमक्ष राखेको छ।

बर्तौलाले आफ्नो पार्टी जनमतको परीक्षाबाट कहिल्यै नडराएको र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने प्रतिबद्धताबाट पछि नहट्ने बताए। एमालेले विशेषगरी सुरक्षा तयारी, प्रशासनिक तटस्थता र संवेदनशील क्षेत्रमा शान्तिपूर्ण वातावरण कायम गर्न सरकारलाई थप गम्भीर हुने सुझाव दिएको बताइएको छ।

छलफलपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीले निर्वाचन सहभागिताका लागि एमालेलाई आधिकारिक निमन्त्रण गरेको पुष्टि गरे। उनले एमाले नेताहरूले आफूहरू चुनावबाट नपछाडिने स्पष्ट अभिव्यक्ति दिएपछि पछिल्ला दिन देखिएका शंका संशय घटेको अनुभूति भएको बताए । 

बैठकमा एमालेतर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी थिए।