राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको १६ बुँदे निर्णय, मंसिर २३ मा काठमाडौँमा शक्ति प्रदर्शन
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बिहीबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १६ बुँदे निर्णय सार्वजनिक गरेको छ।
पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठकले म्याद सकिएका सबै तहका संगठनको अवधि विधानअनुसार थप ६ महिनाका लागि लम्ब्याउने निर्णय गरेको हो।
बैठकले देशको पछिल्लो राजनीतिक अवस्था बारे प्रधानमन्त्रीलाई प्रत्यक्ष रुपमा पार्टीको धारणा अवगत गराउन भेट गर्ने तय गरेको छ। राजा, राजनीतिक दल र जेनजीबीच नयाँ राजनीतिक समझदारीको आवश्यकता रहेको भन्दै राप्रपाले मंसिर २३ गते काठमाडौँ उपत्यकामा विशाल प्रदर्शन गर्ने घोषणा गरेको छ।
देशव्यापी सभा र प्रदर्शनको तयारी तथा व्यवस्थापनका लागि प्रवक्ता ज्ञानेन्द्र शाहीसहित चार सदस्यीय समिति गठन गरिएको छ। त्यस्तै, समान विचार भएका दल, समूह र अभियन्ताहरूसँग सहकार्य र एकताको सम्भावना खोज्न तीन सदस्यीय वार्ता समिति पनि बनाइएको छ।
अनुशासनसम्बन्धी सिफारिसका आधारमा मधेस प्रदेश सभा सदस्य कञ्चन विच्छालाई ६ महिनाका लागि साधारण सदस्यता निलम्बन गर्ने र पार्टी निर्देशन उल्लङ्घन गरेको भन्दै उनलाई प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय बैठकले गरेको छ।
आगामी महाधिवेशनलाई व्यवस्थित बनाउन विधान संशोधन, सक्रिय सदस्यता वितरण तथा संगठन सम्बन्धी विभिन्न समितिहरू गठन गरिएका छन्। बागमती प्रदेश सभामुखबाट राजीनामा दिएका भुवन पाठकलाई पुनः महामन्त्रीको जिम्मेवारीमा स्वागत गर्ने निर्णय पनि गरिएको छ।
जेनजी प्रदर्शनका कारण पार्टी कार्यकर्तामाथि भएको धरपकडप्रति राप्रपाले आपत्ति जनाउँदै गैरकानुनी रूपमा थुनामा राखिएका कार्यकर्तालाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।
बैठकले जिल्ला अधिवेशन तथा संगठनात्मक प्रक्रियालाई प्रभावकारी बनाउन पर्यवेक्षक थप गर्ने र महाधिवेशनको कार्यतालिका तयार पारेर आगामी बैठकमा पेश गर्ने जिम्मेवारी विशेष समितिलाई दिएको छ।













